महामारीको अनिश्चितताबीच अघि बढ्यो २५ करोडको रिसोर्ट परियोजना

img

21

Nov

महामारीको अनिश्चितताबीच अघि बढ्यो २५ करोडको रिसोर्ट परियोजना

Nov 21, 2020 No Category

कोरोना महामारीको सबभन्दा खराब प्रभाव पर्यटनमा पर्ने विभिन्न अध्ययनले देखाएका छन्। नेपालमै पनि यो क्षेत्रका विभिन्न व्यवसायी विस्थापित भइसके।

पछिल्लो समय कोरोना प्रभाव सम्बन्धी हुने बहस तथा छलफलमा पर्यटन क्षेत्र फेरि ब्युँताउने एक मात्र लक्ष्य राख्नुपर्ने सुझाव पनि आइरहेका छन्। खराब प्रभाव परेको यो क्षेत्रमा नयाँ लगानी हुने सम्भावना कम हुने धेरैको धारणा छ।

धेरैले मान्छन्- कोरोना खोप आए पनि मान्छेहरूको आय घटेका कारण यात्रा त्यति धेरै फस्टाउने छैन। यसैले नयाँ तथा विदेशी लगानीको सम्भावना कम हुनेमा धेरैको एकमत छ। 

तर यही अवस्थाबीच गत साता चितवनबाट एउटा समाचार आयो- २५ करोड रूपैयाँ लगानीमा लक्जरी रिसोर्टको शिलान्यास। 

कोरोनाका कारण पर्यटनको भविष्य अन्यौलमा परेको र व्यवसायी विस्थापित नै भएका बेला रिसोर्टमा लगानी गर्न तम्सिएका व्यवसायी हुन् रामेश्वर शाह।

रामेश्वर शाह।

यसअघि अन्य सेवामूलक क्षेत्रमा लगानी गरेर व्यवसाय गरिरहेका शाहले चितवनमा रिसोर्ट बनाउने योजना लकडाउनअघि नै बनाएका थिए। लकडाउन सुरू भएपछि केही समय अन्यौलमा परेका शाह पछिल्लो समय आफ्नो योजना पूरा तम्सिए।

अन्तत: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले 'द फरेस्ट फ्रन्ट रिसोर्ट' शिलान्यास गरे। 

कोरोनापछि पनि संसार हुने र घुम्ने संस्कृति अझै फस्टाउने विश्वासमा शाह लगानी गर्न हौसिएको बताउँछन्। 

'रिसोर्ट बनाउन मैले लकडाउनअघि नै तयारी गरिसकेको थिएँ। तयारी क्रममै लकडाउन भयो। त्यसले गर्दा केही अन्यौल भयो। पछिल्लो समय भने धेरै सोचेर, अध्ययन गरेरै मैले परियोजना अघि बढाउने निधो गरेको हुँ,' शाहले सेतोपाटीसँग भने। 

अहिलेको समयमा लगानी गरेर सकारात्मक सन्देश प्रवाह मात्र नभएर निर्माण सम्पन्न भएपछिको लाभांश पनि शाहले देखेका छन्। कोरोनाका कारण धेरै होटल तथा रेष्टुरेन्ट व्यवसायी विस्थापित भएका छन्। जो लगत्तै पुनरुत्थान नहुन पनि सक्छन्। यस्तो अवस्थामा तत्काल सञ्चालनमा आउने नयाँ परियोजनाले फाइदा उठाउनेमा शाहको रिसोर्ट परियोजना पर्न सक्छ। 

पछिल्लो समय खोपको काम संसारमा द्रुत गतिमा अघि बढेको छ। यसको प्रभावकारिता संसारभर फैलिएपछि कम्तिमा एक वर्षपछि अन्तर्राष्ट्रिय पर्यटन कोरोनाअघिकै तहमा पुग्ने अन्तर्राष्ट्रिय संघसंस्थाहरूले प्रक्षेपण गरेका छन्।

त्यस्तो अवस्थामा केही पुराना व्यवसाय विस्थापित भएका र नयाँ आइहाल्ने सम्भावना धेरै हुँदैन। त्यो बेला पर्यटक बढ्ने र पूर्वाधार नयाँ नथपिन सक्ने सम्भावित लाभलाई शाहले परियोजना सुरू गर्नुको अर्को आधार बनाएका छन्। 

'मलाई के लाग्यो भने, कोरोनापछि पनि एउटा सुन्दर संसार छ। यो सन्देश प्रवाह गर्ने राम्रो माध्यम र विकल्प नयाँ परियोजना सुरू गर्नुभन्दा अर्को मैले देखिनँ,' शाहले भने। 

संसारभर लगानी खुम्चिएको छ। यस्तोमा आधारभूत आवश्यकता र नयाँ प्रविधिमा आधारित उद्योगबाहेक अन्यत्र खासै लगानी थपिएको छैन। यस्तो बेला पर्यटनमै लगानी गर्नु आफैंमा जोखिम हो। तर शाह यसलाई जोखिम मान्दैनन्। 

'मैले धेरै अध्ययन गरेँ। त्यसबाट मलाई महसुस भयो, नेपालको भविष्य पर्यटनमै छ। हामीले विस्तार गर्ने सम्भावना त्यसमै हो। त्यसैले यसमा गरेको लगानी जोखिममा पर्दैन। यही कुरा नेपालमा मात्र होइन, संसारभर रहेका व्यवसायीमा सञ्चार गर्न पनि म अघि बढेको हुँ,' उनले भने।

सौराहाजस्तो पर्यटकीय सम्भावना भएको ठाउँमा अहिलेका समयमा लगानी विस्तार हुँदा यसले त्यहाँको दीर्घकालीन विकास तथा विस्तारमा सहयोग पुग्ने उनको विश्वास छ। 

१० कठ्ठा जग्गा क्षेत्रफलमा बन्ने 'द फरेस्ट फ्रन्ट रिसोर्ट' मा ३४ कोठा बन्ने छन्। प्रतिकोठा लागत पाँचतारे होटल बराबरमा आउनेगरी आयोजना डिजाइन गरिएको शाहले जानकारी दिए।

'हाइ इन्ड' (खर्चिला) पर्यटक केन्द्रित गरेर बन्ने यो रिसोर्टलाई पूर्ण आराम तथा रूचिअनुसार सुविधा दिनेगरी निर्माण तथा सञ्चालन गरिने उनको भनाइ छ। रिसोर्ट आगामी एक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना उनको छ।

https://www.setopati.com/kinmel/business/223217?fbclid=IwAR1SdwnCIGBAI0dRfBxxomHgQ5pFR7URvRgiVnK4NAqRf9CF3gn0g04LN2s

Comment: